रौतहट, माघ ३
कानु समुदायका हजाराँैको उपस्थितिमा जातीय जागरण तथा सम्मान समारोह सम्पन्न भएको छ । रौतहटको मौलापुर बजारमा कानु समाज कल्याण समिति रौतहटको आयोजना तथा कानु हलुवाई समाज महासंघ नेपालको समन्वयमा शनिवार भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालको रौतहट र बारा जिल्लाका विभिन्न गाउँबाट हजारौँ सर्वसाधारणको उपस्थिति रहेको थियो । मौलापुर मूल बजारमा आयोजना गरिएको कार्यक्रमस्थलमा मानिसहरु अटाउने ठाउँ नभएपछि कैयौँ हजार मानिस यत्रतत्र छरिन बाध्य भएका थिए । कार्यक्रममा नेपाल र भारतका गरी १२ देखि १५ हजार मानिसले सहभागिता जनाएको अनुमान गरिएको छ ।
कार्यक्रममा मुख्य आकर्षणको रुपमा छोटी साहलाई लिइएको थियो । भारतको बिहार प्रान्तमा गत वर्ष भएको चुनावमा एक चर्चित व्यक्तिलाई छोटीकुमारी साहले पराजित गरेपछि उनी निकै चर्चामा आएकी थिइन् । छोटीकुमारीको आगमन भएपछि हजारौँले एक साथ स्वागत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कानु हलवाई समाज महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजकुमार साहलाई घोषणा गरिएको थियो । यसै गरी विशिष्ट अतिथिको रुपमा पूर्वमन्त्री ज्वालाकुमारीसहित भारतको बिहार प्रान्तका विधायकहरू राधाचरण साह, सतिश कुमार साह, छोटीकुमारी साह, पूर्वमन्त्री प्रमोदकुमार र पूर्व प्रदेश साँसद बाबुलाल साहलगायतको सहभागिता रहेको थियो ।
सभालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष राजकुमार साह कानुले समाजको संरक्षण, अधिकार र पहिचानका विषयमा गम्भीर बहस सुरु भइसकेको बताएका छन् । अध्यक्ष साहले राजनीतिक पहुँचमा पुगेका प्रतिनिधिहरूले समुदायप्रति उत्तरदायी हुनुपर्न भन्ने कुरामा जोड दिँदै सामाजिक न्याय, अवसरको समानता र समावेशी विकास बिना कुनै पनि समाजको वास्तविक विकास सम्भव नहुने बताएका छन् ।
गौर नगरपालिकाका पूर्व नगर प्रमुख तथा पूर्व प्रदेश साँसद बाबुलाल साहले कानु समाजलाई अब विभाजन होइन, एकता र संगठनमार्फत अघि बढ्नुपर्ने समय आएको बताएका छन् । साहले शिक्षा, राजनीति, व्यापार र सामाजिक क्षेत्रमा कानु समुदायको सक्रिय सहभागिता बढाउन आफू सदैव प्रतिबद्ध रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
भारतको बिहार प्रान्तका विधायक तथा अन्य निकायमा रहेका प्रतिनिधिहरुले नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई विस्तार गर्दै सीमापार समुदायबीच सहकार्य र एकताबद्ध भएर काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदै यस किसिमको जागरण कार्यक्रम अन्य ठाउँमा पनि निरन्तर भइरहनुपर्ने बताएका छन् ।
कार्यक्रमका क्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा भएको हजारौँको सहभागिताले कार्यक्रमको उद्देश्य सफल भएको आयोजकहरुले बताएका छन् ।
कार्यक्रमको अध्यक्षता कानु समाज कल्याण समिति रौतहटका अध्यक्ष सर्फलाल गुप्ता र स्थानीय व्यवस्थापनमा अति विशिष्ट भूमिका कानु हलुवाई समाज नेपालका केन्द्रीय महासचिव सुरेश साह कानुले गरेका छन् ।
कार्यक्रममा उपस्थित भएकामध्ये कैयौँ विशिष्ट व्यक्तित्वहरुले पतौरास्थित पुरातात्विक महादेव मन्दिरमा पुगेर दर्शन तथा पूजा गरेका छन् ।