अनिता–शिव प्रतिष्ठानले अन्तर्राष्ट्रिय बज्जिका सम्मान आयोजना गर्दै

nepaltak.com

अनिता–शिव प्रतिष्ठानले अन्तर्राष्ट्रिय बज्जिका सम्मान आयोजना गर्दै

रौतहट

अनिता–शिव प्रतिष्ठानले अन्तर्राष्ट्रिय बज्जिका सम्मान आयोजना गर्न लागेको छ । रौतहटको माधव नारायण नगरपालिकास्थित मिठुअवाको बज्जिकानगरमा प्रतिष्ठानले आउँदो शनिवार अन्तर्राष्ट्रियस्तरको बज्जिका कार्यक्रम आयोजना गर्न लागेको हो । 

मिठुअवा घर भई अस्ट्रेलियामा बस्ने समाजसेवी युवा नितेश गुप्ताले आफ्ना मातापिताको नाममा “अनिता–शिव प्रतिष्ठान” गरी मिठुअवा गाउँको लमाहा नदीभन्दा पश्चिमको टोललाई “बज्जिकानगर” घोषणा गरेका छन् । यसै गरी प्रतिष्ठानले हरेक वर्ष बज्जिकासेवीलाई सम्मान गर्ने घोषणा पनि गरेका छन् । 

बज्जिका भाषा, साहित्य र संस्कृतिको बारेमा अंग्रेजी, नेपाली, हिन्दी र बज्जिका भाषामा एक वर्षभित्र प्रकाशित कृतिमध्ये एक कृतिलाई “अनिता–शिव अन्तर्राष्ट्रिय बज्जिका सर्वोच्च कृति पुरस्कार सम्मान” प्रदान गरिने घोषणा पनि गुप्ताले गरेका छन् । सन् २०२४ मा प्रकाशित बज्जिका महाकाव्य “बुद्ध”लाई पहिलोचोटि सर्वोच्च कृति घोषणा गरिएको छ र २५ हजार रुपैयासहित कृतिकार सञ्जय साह मित्रलाई सम्मानित गरिने भएको छ ।

पहिलोचोटि आयोजना हुन लागेको कार्यक्रममा नेपाल र भारतका गरी करिब एक दर्जन बज्जिकासेवीलाई “अनिता–शिव अन्तर्राष्ट्रिय बज्जिका सम्बन्ध–सेतु सम्मान २०२४” प्रदान गर्न लागिएको हो । सम्मानबाट भारत बिहारको सीतामढीकी डा. उषाकिरण श्रीवास्तव, मुजफ्फरपुरकी डा. भावना, पटनाकी डा. पूनम सिन्हा श्रेयसी, वैशालीका मणिभूषण प्रसाद सिंह अकेला, समस्तीपुरका ज्वाला सांध्यपुष्प तथा दरभंगाका डा. शतीसचन्द्र भगत सम्मानित हुने आयोजकले जनाएको छ । 

यसै गरी नेपालीय बज्जिकासेवीमा महोत्तरीका अजयकुमार झा, सर्लाहीका रामचन्द्र महतो कुशवाहा, रौतहटका किशुनदयाल श्रीकृष्ण, बाराका दिनेशप्रसाद साह र रुपन्देहीका रमेश समर्थनलाई पनि सम्मानित गरिन लागिएको हो । 

कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली र हिन्दी साहित्यका विशाल प्रतिभा र बज्जिका भाषाका सहृदयी डा. घनश्याम परिश्रमी रहनु हुने बताइएको छ । नेपालमा बज्जिका भाषाको पहिलो औपचारिक कार्यक्रम समनपुरमा हुँदा डा. परिश्रमी नै प्रमुख अतिथि हुनुहुन्थ्यो । डा. परिश्रमी करिब २० वर्षपछि बज्जिकाको पुनः प्रमुख अतिथि बन्दै गर्दा बज्जिका भाषा, साहित्य र चेतनाले निकै ठुलो फड्को मारिसकेको छ । कार्यक्रममा नेपाल र भारतका बज्जिकासेवीको सहभागिता रहने आयोजकको भनाइ छ । 

साथै सोही दिन एउटै मञ्चमा बुढ्यौली साहित्य समाज रौतहट–सर्लाही समितिको आयोजनामा बुढ्यौली विषयक कार्यक्रम हुने पनि बताइएको छ । बुढ्यौली विषयमा साहित्यिक गतिविधि सञ्चालन गर्नको लागि केही वर्ष पहिले बुढ्यौली साहित्य समाजको गठन गरिएको हो । समाजले रौतहट र सर्लाहीमा करिब तीन महिनाको अन्तरालमा बुढ्यौली विषयक कार्यक्रम विभिन्न ठाउँमा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया