रौतहट, पुस २९
रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा हरेक दिन सयौँ मानिस सख्खर (मिठा) को लागि पुगिरहेका छन् । मिठाको माग धान्न सुन्दरपुरका उद्योगहरुलाई कठिन भइरहेको छ ।
सुन्दरपुरस्थित सत्यम गुड उद्योगका संचालक रामबाबु साह कानु भन्छन् – तिलासक्रातको चटारोले गर्दा शुद्ध मिठाको माग अत्यधिक बढेको छ ।
सुन्दरपुरमा करिब एक दर्जन सख्खर उद्योग रहेका छन् । हरेक सख्खर उद्योगमा मिठा किन्नेको उत्तिकै भीड रहेको देखिन्छ । सख्खर उद्योगमा शुद्ध सख्खर पाइन्छ भन्ने विश्वास रहेको छ । शुद्ध सख्खरमा कुनै पनि रसायन मिसाइएको हुँदैन । सत्यम गुडमा कुनै पनि रसायन नमिसाइकन परम्परागत तरिकाले मिठा बनाइने गरिएको संचालक साहको दाबी छ ।
गरुडा नगरपालिका ५ महम्मदपुरका किशुनदयाल यादव विगत कैयौँ वर्षदेखि सत्यम गुड उद्योगबाटै मिठा किन्ने गरेका छन् । चाडपर्वका साथै अन्य समयमा पनि यादवले सत्यम गुड नै प्रयोग गर्ने गरेका छन् । आफूलाई थाहा भएसम्म शुद्ध गुड पाइने हुनाले आफूले घरायसी प्रयोजनको लागि सधैँ त्यसै उद्योगको मिठा उपभोग गर्ने गरेको उनी बताउँछन् ।
सुन्दरपुरका सख्खर उद्योगहरुमा व्यापारीका साथै सर्वसाधारण उपभोक्ता पनि पुगिरहेका छन् । घरायसी तथा चाडपर्वको उपयोगको लागि बनाइने गरिएको मिठा अन्य समयको भन्दा केही फरक रहेको छ । तिलासक्रातपछि फेरि पहिलेको जस्तो फरक किसिमले व्यावसायिक मिठा उत्पादन हुनेछ । तिलासक्रातको समयमा घरायसी तथा चाडपर्वको लागि उत्पादन हुने मिठाको माग अत्यधिक बढेको हो ।
उद्योगमा भेटिएकी पूनम साहको भनाइ छ – सर्वसाधारणलाई शुद्ध मिठा चाहिएको हुन्छ र रसायन नमिलाइएको मिठा उद्योगमै पाइने विश्वास हुनाले धेरै उपभोक्ता मिठा उद्योगमा पुग्ने गरेका छन् । हरेक वर्ष छठको समयमा र तिलासक्रातको समयमा शुद्ध र ताजा मिठाको माग अत्यधिक हुने गरेको पूनम साहको भनाइ छ ।
सख्खर उद्योगले गर्दा उखु किसान पनि लाभान्वित भएका छन् । उखु किसानका साथै मिठा बेपारी र सर्वसाधारणलाई सख्खर उद्योगले फाइदा पु¥याएको उद्योगपति रामबाबु साहको दाबी छ ।
सुन्दरपुरका सबै उद्योगमा तिलासक्रातको अवसरमा दैनिक पचास हजारदेखि साठी हजार किलोसम्म मिठा उत्पादन भइरहेको अनुमान छ । तिलासक्रातपछि दैनिक एक लाख किलोभन्दा बढी मिठा उत्पादन हुने अनुमान रहेको छ ।