रौतहट
रौतहटका साहित्यकार सञ्जय साह मित्रलाई अनिता–शिव अन्तर्राष्ट्रिय बज्जिका सर्वोच्च कृति पुरस्कार सम्मान २०२४ प्रदान गरिएको छ । रौतहटको माधव नारायण नगरपालिका ५ मिठुअवाको बज्जिकानगरमा आयोजित एक कार्यक्रममा नेपाली र हिन्दी भाषाका चर्चित साहित्यकार तथा प्रसिद्ध गजलकार डा. घनश्याम न्यौपाने परिश्रमीले मित्रलाई उक्त पुरस्कारले सम्मानित गरेका हुन् ।
मित्रलाई सम्मानित गर्दै डा. परिश्रमीले रामायणमा माता र मातृभूमिलाई स्वर्गभन्दा ठुलो भनेको उल्लेख गर्दै तुलसीदासले मातृभाषालाई पनि स्वर्गभन्दा ठुलो उल्लेख गर्न छुटाएको बताएका छन् । डा. परिश्रमीले बज्जिका भाषाको सर्वोच्च कृति पुरस्कार पहिलोपटक मित्रलाई प्रदान गरिएकोमा खुसी व्यक्त गर्दै भने – अत्यन्त उचित पात्रको हातमा पुरस्कार गएको छ । पुरस्कृत गर्नैपर्ने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दा आफूलाई पनि सन्तुष्टि लागेको बताएका छन् ।
युवा समाजसेवी नीतेश गुप्ताले मातापिताको सम्मानमा स्थापना गरेको अनिता–शिव प्रतिष्ठानले पहिलोपटक बज्जिका भाषाको उत्कृष्ट कृतिलाई पुरस्कार तथा बज्जिका भाषाको सेवा गर्नेलाई अन्तर्राष्ट्रिय सम्बन्ध सेतु सम्मान प्रदान गरेको हो ।
साहित्यकार मित्रको बज्जिका भाषामा बुद्ध नामक महाकाव्य प्रकाशित भएको थियो । सन् २०२४ मा प्रकाशित कृतिहरुमध्ये बुद्धलाई उत्कृष्ट कृतिको रुपमा चयन गरिएको थियो । हरेक वर्ष एक कृतिलाई उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष गुप्ताको भनाइ छ । बज्जिका भाषा, साहित्य तथा संस्कृतिमाथि एक वर्षभित्र नेपाली, हिन्दी, बज्जिका र अंग्रेजी भाषामा प्रकाशित कृतिमध्ये एकलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ ।
पुरस्कार प्राप्त गरेपछि साहित्यकार मित्रले अब बज्जिकाको विकासमा नयाँ ढोका खोलिएको बताउँदै पुरस्कारले निरन्तरता पाउँदा बज्जिका भाषामा उत्कृष्ट कृति सर्जकलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरेका छन् । साहित्यकार मित्रको पहिलो कृति २०६१ मा प्रकाशित भएको थियो । नेपालमा बज्जिका भाषाको पहिलो साहित्यकार मित्र पहिलो महाकाव्यकार पनि छन् । यसअघि साहित्यकार मित्रलाई कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार २०२५, बज्जिका शिरोमणि उपाधि, मधेश रत्न उपाधि प्राप्त भइसकेका छन् । यसै गरी साहित्यकार मित्र र साहित्यकार विश्वराज अधिकारीको नाममा विश्व संजय बज्जिका साहित्यकोष स्थापना पनि गरिसकिएको छ ।
यसै गरी अनिता–शिव अन्तर्राष्ट्रिय बज्जिका सम्बन्ध–सेतु सम्मान २०२४ बाट नेपाल र भारतका गरी एक दर्जन बज्जिकासेवीलाई सम्मानित गरिएको छ ।
गोरखापत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक तथा ४६ भाषामा प्रकाशित भइरहेको नयाँ नेपालका संयोजक कुमार विवेकानन्द मिश्रलाई उक्त सम्मान प्रदान गरिएको छ । मिश्र बज्जिका भाषाका शुभचिन्तक हुन् । सम्मान ग्रहण गर्दै मिश्रले गोरखापत्रले बज्जिका भाषाको विस्तारमा ठुलो भूमिका खेलेको बताएका छन् ।
यसै गरी महोत्तरीमा रहेर नेपाली, हिन्दी तथा बज्जिका भाषामा विभिन्न विधामा साहित्य सिर्जना गरिरहेका चर्चित साहित्यकार अजयकुमार झा, बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष तथा दर्जनौँ बज्जिका कृतिका सर्जक रामचन्द्र महतो कुशवाहा, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष साहित्यकार किशुनदयाल श्रीकृष्ण, बाराका बज्जिकासेवी दिनेशप्रसाद साह र रुपन्देहीका साहित्यकार रमेश समर्थनलाई अन्तर्राष्ट्रिय सम्बन्ध सम्मान २०२४ प्रदान गरिएको हो ।
यसै गरी भारत बिहारको सीतामढीकी डा. उषाकिरण श्रीवास्तव, मुजफ्फरपुरकी डा. भावना, पटनाकी डा. पूनम सिन्हा श्रेयसी, वैशालीका मणिभूषण प्रसाद सिंह अकेला, समस्तीपुरका ज्वाला सांध्यपुष्प तथा दरभंगाका डा. शतीसचन्द्र भगत सम्मानित गरिएको छ । कार्यक्रममा ज्वाला सांध्यपुष्प उपस्थित हुन नसकेको बताइएको छ ।
२२ मङ्सिर २०८२, सोमबार ०७:०३ मा प्रकाशित