रौतहट, मंसिर २५
रौतहटकी १६ वर्षीया सानिया खातूनले मुस्लिम समुदायको पवित्र ग्रन्थ कुरान शरीफ अध्ययनमा सामान्यतया सम्भव नमानिने उपलब्धि हासिल गरेकी छन् । तीन वर्षभन्दा बढी समय लाग्ने कुरान अध्ययन कोर्ष सानियाले तेतीस दिनमै पूरा गर्दै नेपालमा कीर्तिमान कायम गरेकी हुन् ।
मुस्लिम समुदायको पवित्र धार्मिक ग्रन्थ कुरान शरीफ अध्ययन गर्न सामान्यतः तीन वर्षभन्दा बढी समय लाग्ने बताइन्छ । तर रौतहटको गढ़ीमाई नगरपालिका–३, गमहरियाकी १६ वर्षीया सानिया खातूनले यस कठिन कोर्षलाई जम्मा ३३ दिनमै पूरा गर्दै ऐतिहासिक कृतिमान स्थापित गरेकी हुन् । नेपालमा छोटो समयमा कुरान अध्ययन पूरा गर्ने व्यक्तिको रुपमा उनको नाम दर्ता भएको छ ।
सानिया रौतहटको गढ़ीमाई नगरपालिका–३ की स्वर्गीय हाजी शेख ताहिर हुसैनकी नतिनी र शेख अबुलैसकी छोरी हुन् । आमा स्वर्गीय ओसीमा खातूनकी चौथो सन्तान सानियाले आफ्नै दृढ इच्छाशक्ति, कठोर मेहनत, निरन्तर अभ्यास र आत्म–विश्वासका कारण वर्षौं लाग्ने कोर्ष एक महिनामै पूरा गरेको बताउँछिन् । सानियाले गढ़ीमाई नगरपालिका–३ मा रहेको मदरसा इश्लाहुल मुस्लेमीनमा अध्ययन गर्दै सफलता हासिल गरेकी हुन् ।
मदरसा इश्लाहुल मुस्लेमीनमा देशका विभिन्न जिल्लाबाट आएका एक हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । सुविधा सम्पन्न छात्रावास, शान्त वातावरण र अनुशासित शैक्षिक प्रणालीका कारण यहाँ गुणस्तरीय धार्मिक शिक्षा पाउने विद्यार्थीको संख्या वर्षेनि बढ्दै गइरहेको छ । यही वातावरणले सानियालाई अझ केन्द्रित भएर अध्ययन गर्न प्रेरणा दिएको शिक्षकहरू बताउँछन् ।
कुरान मुस्लिमहरूको एकमात्र पवित्र ग्रन्थ हो, जसलाई अल्लाहको वाणी तथा मानवजातिका लागि मार्गदर्शन मानिन्छ । पैगम्बर मोहम्मदमार्फत २३ वर्षको अवधिमा अवतरित यो ग्रन्थलाई अध्ययन गर्न सामान्यतया वर्षौं लाग्ने गर्दछ । तर १६ वर्षकी सानियाले ३० पारा, १ सय १४ सूरत, करिब ६ हजार ६ सय ६६ आयत समेटिएको सम्पूर्ण कुरान ३३ दिनमै पूरा गरेर उपलब्धि हासिल गरेकी हुन् ।
सानियाले रौतहटको सरस्वती माध्यमिक विद्यालय मलाहीटोलमा कक्षा १ देखि १२ सम्म अध्ययन गरिसकेकी छन् । आगामी दिनमा एमबीबीएस अध्ययन गरी चिकित्सक बन्ने उनको इच्छा रहेको छ ।
धार्मिक ज्ञानसँगै आधुनिक शिक्षा हासिल गर्ने उनको जिजीविषाले समुदायमा प्रेरणादायी संदेश दिएको छ । सानियाको उपलब्धिले नेपालकै मुस्लिम समुदायमा उत्साह र प्रेरणाको नयाँ ऊर्जा थपिदिएको छ । (पत्रकार ओमप्रकाश यादवको सहयोगमा)