विद्युत प्राधिकरणको कुकृत्य लुकाउन कुलमानले राजनीतिको सहारा लिए, निर्दलीय सरकारमा बसेर दल खोल्नु अपराध हो : प्रभु साह

nepaltak.com

विद्युत प्राधिकरणको कुकृत्य लुकाउन कुलमानले राजनीतिको सहारा लिए, निर्दलीय सरकारमा बसेर दल खोल्नु अपराध हो : प्रभु साह

आज (शनिबार) सर्लाहीको गोडैतामा आजपा सर्लाही क्षेत्र नं. ४ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनको जगमा बनेको सरकारले आज आफ्नो धरालत बिर्सिएर एकपछि अर्को गरेर गलत र कुकर्म गरिरहेको आरोप लगाए । उनले जेन–जी आन्दोलनलाई बदनाम गराउन र विद्रुपीकरण गर्नतर्फ सरकार अग्रसर रहेको भन्दै आन्दोलनकारीलाई पक्राउ गर्ने र धरपकड गर्ने कार्य तत्काल रोक्नसमेत चेतावनी दिए ।

साहले सुशीला सरकारका मन्त्रीहरुपनि विवादमा मुछिन थालेको भन्दै गैरजिम्मेवार मन्त्रीलाई बर्खास्त गर्न चेतावनी दिए । गैरदलीय सरकारमा बसेर दल खोल्ने अनि मेरो दल होईन भनेर उर्जामन्त्री कुलमान घिसिङले सारा नेपालीलाई ढाँटिरहेको साहको आरोप छ । उनले भने, ‘कुलमानजीले दल खोल्ने हो भने यो गैरदलीय सरकारमा बसेर किन राज्यको दोहन गर्नुभएको छ ? झण्डा हल्लाएर राजनीति गर्नको लागि मन्त्री बनाईएको हो र ? यो कम्बल ओढेर घ्यु खाने काम बन्द गर्नुहोस, नेपाली जनतालाई गुमराहमा राख्ने काम नगरौं । राज्यको दोहन गरेर पार्टी खोल्ने कुरा सुहाउँछ त ?’

 प्रधानमन्त्री कार्की पनि आफ्नो नैतिकतामा बस्न नसकेको भन्दै निर्दलीय सरकारमा दलको नेता राख्ने ? भन्दै उनले प्रश्न गरे । चुनावमा मात्रै भाग लिने र जसरीपनि सत्तामा पुग्ने मोहले कुलमानले सारा नेपाली जनताको भावना र विश्वासमाथि घात गरिरहेको उनको आरोप छ । उनले कुलमानले प्राधिकरणमा हुँदा गरेको कुकृत्यबाट बच्नको लागि राजनीतिक दलको नाममा दुकान खोलेको भन्दै यदि मैदानमा उत्रिएको हो भने मन्त्रीबाट तत्काल राजीनामा दिन सुझाए ।

सरकारले कानूनी राज्यको समेत धज्जी उडाएको भन्दै आजमात्रै हेटौंडामा सडक विस्तारको नाममा सर्वोच्च अदालतको आदेशविपरित डोजर चलाएको विषयमा आपत्ति जनाए । उनले जनतालाई उठीबास लगाउनेगरि यसरी कुलमानले डोजर आतंक मच्चाएको भन्दै यो मानवअधिकारको पनि उल्लंघनको विषय भएको बताए । कुलमान घिसिङको कुकृत्य टुलुटुलु हेरेर नबस्नसमेत उनले प्रधानमन्त्री कार्कीलाई तत्काल मन्त्रीबाट घिसिङलाई बर्खास्त गर्न सुझाव दिए ।

 कुलमानले राजनीतिमा आउनको लागि बालेनसँग फोटो खिचाएर झनै सस्तो राजनीतिको सहारा लिएको भन्दै पूर्वमन्त्री साहले आलोचना गरे । उनले भने,‘राजनीतिक दल खोलेर देशको नेतृत्व लिन्छु भनेर महत्वकांक्षा पाल्ने अनि राजनीतिमा टिक्नको लागि काठमाडौंको मेयरलाई भेटेको तस्विर हालेर चिप–पपुलारिटी बटुल्ने, यो त लाजमर्दो विषय हो नि, आफ्नो एजेण्डामा राजनीति गर्नुहोस, बालेनसँग खिचाएको तस्विर देखाएर भजाउने काम नगर्नुहोस् ।’ साहले बालेनसँग खिचेको तस्विर भजाउने कुलमानले देश र जनताको लागि केही ननाप्ने भन्दै खरो आलोचना गरेका छन् ।

प्रतिक्रिया